४ दिने गृह क्षेत्रको भ्रमण सक्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राजधानी फिर्नु भएको छ | झापामा आफ्नो क्षेत्र न ५ का दमक कमल गौरादह र गौरिजंगमा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नुका साथै विभिन्न समुहहरुलाई ओलीले भेटघाट गर्नु भएको थियो |
झापामा आज आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको वताउनुभयो । ‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उहाँले भन्नुभयो– नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकारका अर्थमन्त्रीले केही व्यक्ति बोलाएर करका दर हेरफेर गर्छन् । देशको ढुकुटीमा योभन्दा ठूलो लुट अरू के हुन्छ ? यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’
उहाँले आफू नेतृत्वको सरकारले विकासका धेरै काम गरेको फेहरिस्त पनि सुनाउनुभयो । आफू नेतृत्वको सरकारले गरेका ठूला विकासका काम देखेर एमालेको सरकार ढालेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाकाबन्द गरे पनि पेट्रोल आउँछ । हामीले मेलम्चीको पानी काठमाडौं ल्यायौँ । अरुण तेस्रो जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । यसरी मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढालियो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनबाट देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभयो । झापाको कमल गाउँपालिका–२ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ ।’
उहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।
अध्यक्ष ओलीले अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।