detail-img

झापामा मिसन ग्रासरुटको औपचारिक सुरुवात


नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक जिल्ला अध्यक्ष कमरेड दिपक कार्कीको अध्यक्षतामा पार्टीका केन्द्रीय कमिटी सचिव कमरेड टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा बस्यो ।
पार्टी केन्द्रीय कमिटीले फागुन ७ गतेदेखि सञ्चालन गरेको पार्टी सुदृढिकरण अभियान ‘मिसन ग्रासरुट’सँग सम्बन्धित रहेर बैठक सञ्चालन गरिएको छ । जिल्लाका सबै १३१ वडामा यसै साताबाट केन्द्रित गरिने अभियान सञ्चालनका लागि पार्टी जिल्ला कमिटीको सिङ्गो टिमलाई बैठकमार्फत् अनुशिक्षण गरिएको हो ।
के हो मिसन ग्रासरुट 
नेकपा (एमाले)को पार्टी सुदृढीकरण तथा विस्तारका लागि तय गरिएको नयाँ अभियान ‘मिसन ग्रासरुट’ हो । पार्टीको संगठन थप मजबुद बनाउन ‘मिसन ग्रासरुट’ अभियान थालिएको हो । यो अभियान पार्टीको ‘होल बडी चेकअप’ जस्तै भएकाले अभियानले पार्टीलाई अझ व्यवस्थित बनाएर लैजानेछ ।
नेकपा (एमाले)का नीति, विचार, सिद्धान्त र कार्यक्रम अरू कुनै पार्टीसँग दाँज्न नमिल्ने बरु यिनै विषयहरू जनताका बीचमा लगेर समाज रूपान्तरणको अभियान चलाइरहेकोले मिसन ग्रासरुट यसैमा केन्द्रित हुने गरी बनाइएको कार्यक्रम हो । 
२०७९ फागुन ७ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले सातै प्रदेश कमिटीको बैठकमा भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह थप्ने विश्वास गरिएको छ । पार्टीका सबै नेता कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तविरोधहरू देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्न मिसन ग्रासरुट औजार बन्नेमा विश्वास लिइएको छ । 
बैठकमा निर्देशनात्मक मन्तब्य राख्नु हुदै केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीले पार्टीका सबै तहका कमिटीहरुलाई पुनः ताजगी गराउन मिसन ग्रासरुट अभियान अघि सारिएको बताउनु भयो । पाँच वर्षपछि तीनै तहको सरकारमा कम्तीमा ५१ प्रतिशत जनमत सुनिश्चित गर्न अभियानले आधार तयार गर्ने उहाँको भनाई छ ।
बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश १ कमिटीका इन्चार्ज कमरेड राजेन्द्र गौतमले नेकपा एमालेको वैचारिक बाटो सुस्पष्ट भएकोले जनताको वहुदलीय जनवादको मार्गबाटै समाजवाद तर्फ यात्रा गर्न सकिने बताउनु भयो ।
बैठकमा पार्टी स्थायी कमिटीका सदस्य तथा झापाका इन्चार्ज कमरेड अग्नि खरेल, प्रदेश कमिटी अध्यक्ष कमरेड तुलसी न्यौपानेले विष केन्द्रित धारणा राख्नु भएको थियो ।
अध्यक्ष कमरेड कार्कीले बैठकको कार्यसूची प्रस्तुत गर्नुभएपछि छलफल प्रारम्भ भएको थियो ।